loader

Breaking News

बोनसको मागमा तल्लो फागु, साइली र बाग्राकोट चियाकमानका श्रमिकहरूद्वारा प्रदर्शन

Image
 


दुर्गा पूजाअघि अहिले पहाड, तराई डुवर्सका विभिन्न चियाकमानका श्रमिकहरू बोनसको मागमा आन्दोलनरत छन्। कालेबुङ जिल्लाको गोरुबथान ब्लकको तल्लो फागु चिया बगानमा काम स्थगनको नोटिस जारी गरेर प्रबन्धन पक्ष गएपछि आक्रोशित श्रमिकहरूले शनिबार स्थानीय पान डाँडा मोड लाभा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरे। खबर पाएपछि गोरुबथान ब्लकका बीडीओ शोभन दास, एसडीपीओ विक्रमजीत लामा, सर्कल इन्स्पेक्टर डालिम अधिकारी, गोरुबथान थानाका ओसी प्रतीक सुब्बा आदि घटनास्थल पुगेर आक्रोशित श्रमिकहरूसित कुराकानी गरे।
माल ब्लकसँग जोडिएको कालेबुङ जिल्लाको गोरुबथान ब्लकस्थित तल्लो फागु चियाकमानमा लगभग 350 श्रमिकहरू काम गर्छन्। विगत केही दिनदेखि श्रमिकहरूले बोनसको माग गर्दै चियाकमानमा विरोध प्रदर्शन गरिरहेका छन्। शुक्रबार राति चियाकमान प्रबन्धन पक्षले काम निलम्बनको सूचना जारी गर्दै कमान छोडेका हुन्। 
राज्य सरकारले सबै चियाकमानहरूलाई 20% बोनस दिने वाचा गरे पनि फागु कमानमा 11 प्रतिशत मात्र बोनस दिने भनिएपछि श्रमिकहरूले यसको विरोध जनाएका थिए। यसैबीच शुक्रबार एउटा बैठक पनि सम्पन्न भएको थियो। तर शनिबार बिहान प्रबन्धकले काम निलम्बनको सूचना दिएर बगान छोडेपछि श्रमिकहरूले बाध्य बनेर सडक अवरोध गरेको बताएका छन्।  
अर्कोतर्फ, डुवर्सको माल ब्लकमा स्थित साइली चियाकमानका श्रमिकहरूले पनि 20 प्रतिशत बोनसको माग गर्दै शनिबार बिहानैदेखि कारखानाको गेट अगाडि विरोध प्रदर्शन गरे। चियाकमान पक्षले 15 प्रतिशत मात्र बोनस दिने थाह पाएपछि श्रमिकहरू आक्रोशित बन्न पुगेका हुन्। श्रमिकहरूले यसलाई स्वीकार नगर्ने बताउँदै 20 प्रतिशत बोनस दिनु पर्ने माग गरिरहेका छन्। यता, डुवर्सको बाग्राकोट चियाकमानमा पनि श्रमिकहरू बोनसको मागमा आन्दोलनरत छन्। सत्ताधरी दलका श्रमिक नेता राजेश छेत्रीले श्रमिकहरुलाई 20 प्रतिशत बोनसको माग उठाएका छन्।


Leave a Comment